दक्षिण कोरियाका राष्ट्रपति बिरुद्ध महाअभियोग प्रस्ताव पेश
एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल बिरुद्ध महाअभियोग प्रस्ताव पेश गरिएको छ ।
येओलले मंगलबार राति मार्शल ल (संकटका बेला लगाइने सैनिक शासन) लगाउने असफल प्रयास गरेपछि आज बुधबार विपक्षी सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव पेश गरेका हुन्।
आजदेखि दक्षिण कोरियाका सामाजिक कार्यकर्ताहरूले राष्ट्रपति येओलको राजीनामाको माग गर्दै देशभर केही दिनसम्म प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। दक्षिण कोरियाली समाचार संस्था योनहाप समाचार एजेन्सीको रिपोर्ट अनुसार दक्षिण कोरियाको सबैभन्दा ठूलो शहर बुसानका कार्यकर्ताहरूले अर्को हप्ता हरेक दिन विरोध र्याली गर्ने योजना बनाएका छन्।
आज साँझ, दक्षिण कोरियाको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित ग्वान्जुमा मैनबत्ती बालेर मार्चपास गरिने र त्यसमा एक हजार व्यक्ति सहभागी हुने अपेक्षा गरिएको छ।प्रदर्शनकारीहरूले आज दिउँसो दक्षिण–पूर्वी शहरहरू डेगु र पोहाङ र दक्षिण–पूर्वी तटमा रहेको जेजु टापुमा यस्तै र्यालीलीहरू गर्ने योजना बनाएका छन्।
यसैबीच दक्षिण कोरियाको मुख्य श्रमिक संघले अनिश्चितकालीन हडताल सुरु गरेको छ ।मंगलबार साँझ दक्षिण कोरियाका राष्ट्रपति येओलले देशमा मार्शल लको घोषणा गरेका थिए। राष्ट्रविरोधी तत्वलाई हटाउन यो कदम चालिएको उनले बताएका थिए । तर, बुधबार बिहान उनले मार्शल ल लगाउने आदेश फिर्ता लिएका थिए । यसपछि झन् त्यहाँ तनाव बढेको छ । महाअभियोग मतदान मार्फत टुंगो लाग्न भने केही दिन लाग्नेछ ।
प्रतिक्रिया