विशेषज्ञ अभावमा मुटु परीक्षण उपकरण उपयोग विहीन

बागमती । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत डेढ वर्ष देखि थन्किएको छ । उपकरण प्रयोग विहीन हुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता छ । 

बिरामीको चापलाई दृष्टिगत गरी मकवानपुर रोटरी क्लबले हेटौँडा उपमहानगरपालिका सँगको साझेदारीमा १ करोड मूल्य बराबरको मुटुपरीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार उपकरण अस्पतालाई हस्तान्तरण भए पनि विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन् ।  सुपरिटेन्डेन्ट डा.सापकोटाले भने, “हामीले मुटुरोग विशेषज्ञका लागि विज्ञापन खुलायौँ, त्यसमा एक जनाले मात्र आवेदन भरे । तर, उहाँलाई प्रदेश कार्यविधिले नियुक्त दिन मिलेन।”

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल बीच केही दिन अघि जनशक्ति व्यवस्थापन सम्बन्धी सम्झौता भएकाले शीघ्र समस्या समाधान हुने उनको विश्वास छ । 
रासस 
 

प्रतिक्रिया