संसदको विरोध पछि दक्षिण कोरियामा घोषणा भएको सैनिक शासनको निर्णय फिर्ता
काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल ‘मार्सल ल’ अर्थात सैन्य कानून लागू गर्ने घोषणा बाट पछि हटेका छन् ।
मंगलबार राति टेलिभिजन सम्बोधन गर्दै उनले मार्सल ल घोषणा गरेका थिए तर, त्यहाँको नेश्नल एसेम्ब्लीको बहुमतले मार्सल ल विरुद्ध मतदान गरेपछि उनी पछि हटेका हुन् । उत्तर कोरियाली कम्युनिष्ट समूह बाट देशलाई सुरक्षित गर्न मार्सल ल लागू गरेको घोषणा उनले गरेका थिए ।
विपक्षी दललाई लक्षित गर्दै देश विरोधी तत्वहरुलाई तह लगाउन पनि यो व्यवस्था घोषणा गरेको उनले बताएका थिए । यद्यपि, पछिल्लो समय आफ्नो सरकार कमजोर हुँदै गएको र बजेट लगायतका विधेयक ‘फेल’ हुने अवस्था रहेकोले उनले यो घोषणा गरेको बुझिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मार्सल ल लागू भए सँगै दक्षिण कोरियाली सेनाले सबै प्रकारको संसदीय कारबाही निलम्बन गर्ने घोषणा गरेको थियो । संसदमा सांसदहरुलाई प्रवेशमा रोक समेत लगाइएको थियो । तर, विपक्षी डेमोक्रेटिक पार्टीले मार्सल ल लागू गर्नु असंवैधानिक भएको भन्दै यो घोषणा विरुद्ध सडकमा ओर्लिन सबैमा आह्वान गरेको थियो । उनले आफ्ना दलका सबै सांसदलाई संसद भवनमा भेला हुन भनेका थिए । सेनाले प्रवेश गर्न रोक्दा पनि सांसदहरु भवनको पर्खाल नाघेर संसद भवन पसेका थिए ।
नेशनल एसेम्बलीमा भएको मतदानमा १ सय ९० जना बहुमत सांसदले मार्सल ल विरुद्ध मतदान गरेका हुन । नेशनल एसेम्बलीका बहुमत सांसदले मत दिए मार्सल ल फिर्ता लिनुपर्ने हुन्छ । मार्सल ल ले सांसदहरुलाई पक्राउ गर्न पनि संवैधानिक रुपमा रोकेको छ । राष्ट्रपतिको घोषणाको दुई घण्टा पछि एसेम्बलीमा मतदान भएको थियो । त्यसको केही समय पछि योलले मार्सल ल फिर्ताको घोषणा गरेका थिए ।
राष्ट्रपति योल सदस्य रहेको पार्टी पिपल पावर पार्टीका प्रमुख हान डङ हुनले पनि यो घोषणा गलत भएको प्रतिक्रिया दिएका थिए । मार्सल ल विरुद्ध सत्तारुढ दलले नै मतदान गरेका थिए । अहिले योलको राजीनामाको माग भइरहेको छ ।
प्रतिक्रिया