५६ लाखको मेसिन बाट स्याङ्जामा सुन्तला ग्रेडिङ

स्याङ्जा । सुन्तला ग्रेडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थाले सँगै सहज भएको हो ।

नेपालमा पहिलो पटक २०७५ साल देखि सुन्तलाको ग्रेडिङ मेसिन जडान गरी काम शुरु भए सँगै सहज भएको बागवानी सञ्चालक एवं अगुवा किसान फणिनारायण अर्यालले बताए। पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौं र बागवानी फार्म बीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा ५६ लाख लागतमा भारत बाट मेसिन ल्याई जडान गरिएको हो ।

“निर्देशनालयको ८५ प्रतिशत अनुदान र फार्मको १५ प्रतिशत लागत साझेदारीमा सुन्तलाका क्षेत्रमा ग्रेडिङ प्रविधि नेपालमा पहिलोपटक भित्रिएको हो”, उनले भने, “मेसिन जडान भए सँगै सुन्तलाको ग्रेडिङ तथा सफा गर्न सहज भएको छ ।” प्रतिघण्टा पाँच टन सम्म सुन्तला ग्रेडिङ गर्ने क्षमताको मेसिनले फोहरमैला, कालो टीका सफा गर्ने सञ्चालक अर्यालले बताए ।

सञ्चालक अर्यालले बगैँचामा उत्पादन भएका सुन्तला तथा अन्य किसान बाट खरिद गरेका सुन्तला मेसिन मार्फत ग्रेडिङ गरी बजार पठाउँदै आएका छन् । “मेसिन बाट विभिन्न आठ वटा आकारमा सुन्तलाको वर्गीकरण गर्दै आएका छौँ”, उनले भने, “मान्छे लगाएर काम गर्दा झण्झटिलो, धेरै कामदार लाग्ने, दाग लाग्ने, थिच्चिने जस्ता समस्या हुुन्थ्यो, मेसिनको प्रयोगले सहज भएको छ ।”

आठ वटा आकारमा सुन्तला ग्रेडिङ गरेर छुट्याइए पनि बजार मागका आधारमा चार वटा आकारमा पठाउने गरिएको उनले बताए । साना सुन्तलाको प्रति केजी न्यूनतम मूल्य २५ देखि ठूला सुन्तलाका मूल्य ९० मा अहिले फार्म बाट बिक्री हुने गरेको छ ।

फार्मले सुन्तलाको बजारीकरणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक सँग सम्झौता गरेको छ । उक्त कम्पनी सँग गत वर्ष देखि ५० टन सुन्तला उपलब्ध गराउनेगरी सम्झौता भएको उनले बताए । 
रासस 

प्रतिक्रिया