चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । 

बेइजिङमा सोमबार भएको भेटवार्ताका दौरानमा प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई नेपाल आउन निम्तो दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद ढकालले जानकारी दिए ।

जवाफमा चिनियाँ प्रधानमन्त्री लीले आफू नेपाल भ्रमणमा आउन इच्छुक रहेको र अनुकूल समय मिलाएर आउने जवाफ दिएका थिए ।

यस्तै, मंगलबार भएको प्रधानमन्त्री ओली र राष्ट्रपति सीबिचको भेटका क्रममा सीलाई नेपाल भ्रमणको निम्तो दिइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकाल बताउछन् ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्रीका साथै राष्ट्रपति सी चिनफिङ र राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झाव लेजीसँग पनि भेटवार्ता गरेका थिए । 

नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाठको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चिनिया राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीले आमन्त्रण गरेका हुन् । निमन्त्रणाका लागि धन्यवाद दिँदै सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए ।

सोमबार चीन भ्रमण गएका प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरेका हुन् । ओली यही मंसिर २० गते नेपाल फर्किने छन् ।

प्रतिक्रिया