उपनिर्वाचन : मूलधारका राजनीतिक दल र नेतृत्वप्रति नै जनताको भरोसा

काठमाडौं ।  राजनीतिक दलका नेताहरुले स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले फेरि पनि मूलधारका राजनीतिक दल र नेतृत्वप्रति नै जनताले भरोसा गरेको प्रतिक्रिया दिएका छन् । 

गत आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजा सार्वजनिक भएपछि उनीहरुले  मतपरिणालाई लिएर आत्तिने, मात्तिने र हौसिने अवस्था नरहेको र जनतातर्फ फर्कनुपर्ने सन्देश दिएको बताए ।

नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नेकपा पार्टी नेतृत्वले बारम्बार जनतातर्फ फर्कनुपर्छ भनेर राख्दै आएको विचारलाई निर्वाचनको परिणामले पुष्टि गरेको बताए । पाण्डेले जति स्थानमा पार्टीका उम्मेदवार विजयी भएका छन्, त्यसले धेरै राम्रो सन्देश दिएको र  जहाँ निकटतम प्रतिस्पर्धामा पुगेको अवस्था छ, यो खुसीको विषय बताए । उनले । निर्वाचनले धेरै मात्तिनु र आत्तिनु पनि हुँदैन भन्ने सन्देश दिएको उल्लेख गरे । पाण्डेले देश र जनतालाई गोलबन्द गरेर लैजान विचार र नेतृत्व नै मुख्य कुरा रहेछ भन्ने प्रमाणित भएको बताए । माओवादी पार्टी र नेतृत्वप्रति जनताको सकारात्मक भाव प्रकट भएको उनको भनाई छ ।  

यसैगरी नेकपा एमालेका मुख्य सचेतक महेश बतौंलाले उपनिर्वाचनले मूलधारका दल र नेतृत्वप्रतिको भरोसा नवीकरण गरेको बताए ।बर्तौलाले  उनले लोकतन्त्रमा जनताको अभिमतलाई सबैले स्वीकार गर्नुपर्ने र  अहिलेको परिणामलाई एमालेले सहर्ष स्वीकार्दै ग्रहण गरेको बताए । 

मूलधारका प्रमुख राजनीतिक शक्तिप्रति नै नागरिकले भरोसा देखाएका र जनताले समयक्रममा निर्णय फेरबदल गर्न सक्छन् है भन्ने देखाएका उनको भनाई छ । नतिजा तीन दलकै पोल्टामा गएकाले भरोसा पनि यिनै दलप्रति छ भन्ने सन्देश उपनिर्वाचनले दिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदाताको समर्थनलाई विश्वासमा परिणत गर्नुपर्ने भन्दै प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवं उत्साहवद्र्धक सङ्केतका रूपमा लिएको बताए । 

उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र ऐक्यबद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको र  मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणालीमार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी रहेको महामन्त्री शर्माको भनाई छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले मतपरिणामले पार्टीको संगठनको आवश्यकता खड्किएको बताए । राजनीतिक दल, दलको विचार, कार्यक्रम, अवस्था र परिस्थिति, उम्मेदवारको व्यक्तित्व, उम्मेदवारको एजेण्डा र व्यक्तिगत नाफाघाटाको सूचकका आधारमा उम्मेदवारलाई मतदाताले मूल्याङ्कन गरेर निर्णय गरेको उनको भनाई छ । 

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले कामदार वर्ग एक हुनुपर्ने भन्दै  प्रेम हाम्रो जस्तो मुलुकमा चुनाव एउटा वर्ग सङ्घर्ष जस्तै भएको प्रतिक्रिया दिए । स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले कामदार वर्ग कमजोर जस्तो देखिएको कारण यो वर्ग एकजुट हुनुपर्ने सुवालको भनाई छ । 
 

प्रतिक्रिया