यस्ता छन् नेपाल र चीन बीच भएका सहमति र समझदारी

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली र उनका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीन बीच विभिन्न समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्री बीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
 
नेपाल र चीन बीच टोखा–छहरे सुरुङमार्ग निर्माण सम्बन्धी समझदारी पत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । त्यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौंको वसन्तपुर स्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको  प्रमाणपत्रको आदानप्रदानका साथै भैसीँको मासु चीन निर्यात सम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार विकास आयोजना सम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी, नगद सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइ  आदानप्रदान भएको छ भने स्वयम्सेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
 
प्रवक्ता ढकालले भने, “सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकूद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देश बीचको जनस्तरको सम्बन्ध, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।”
रासस 

प्रतिक्रिया