सार्वजनिक नयाँ नक्साका विषयमा शान्त रहन भारतलाई चीनको आग्रह

आवश्यकताभन्दा बढी व्याख्या गरेको टिप्पणी

चीनले विवादमा तानिएको नयाँ नक्साका विषयमा भारतलाई शान्त रहन आग्रह गरेको छ । चीनले भारतको उत्तरपूर्वी अरुणाचल प्रदेश र उसले दाबी गर्दै आएको अक्साई चीन क्षेत्रलाई आफ्नो सीमाभित्र समेट्दै सोमबार नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले आपत्ति जनाएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नक्साको विषयलाई आवश्यकताभन्दा बढी व्याख्या गर्नबाट जोगिन भारतलाई भनेका हुन । वाङले वस्तुगत बन्न र शान्त रहन पनि भारतलाई आग्रह गरेका छन । चीनले समग्र अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतका रूपमा व्याख्या गर्दै आफ्नो भूभाग भन्दै आएको छ । चिनियाँ नियन्त्रणमा रहँदै आएको अक्साई चीन पठार क्षेत्रमा भारतको पनि दाबी छ । चीनद्वारा जारी नयाँ नक्साको फिलिपिन्स, मलेसिया र ताइवानले पनि गम्भीर आपत्ति जनाएका छन् । फिलिपिन्स र मलेसियाले साउथ चाइना सी माथिको स्वामित्व र ताइवानले आफूलाई चीनको भूभाग भनिएकोमा आपत्ति जनाएका हुन । नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको चुच्चे नक्सालाई मान्यता नदिई पुरानै नक्सा राखिएकोमा नेपालमा पनि असन्तुष्टि छ ।

प्रतिक्रिया