पर्यटकीय स्थल दोलालघाटमा मोटरबोट परीक्षण

काभ्रेपलाञ्चोक । जिल्लाको पर्यटकीय स्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौता अनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका क्षेत्र भएर बग्ने सुनकोशी र इन्द्रावतीमा मोटरबोट सञ्चालननार्थ गाउँपालिकाले एक वर्ष अघि महाँकाल वाटर सर्भिस बीच सम्झौता समेत गरेको थियो । मोटरबोट सञ्चालनका लागि हाल परीक्षण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए । उनका अनुसार हाल एक मोटरबोटले नदीमा पानीको बहाव अनुसारको रुट तथा बाधाअड्चन आउन सक्ने स्थान र सम्भावित जोखिमको पहिचान भइरहेको छ । 

परीक्षणका क्रममा दोलालघाट स्थित दुई नदीको सङ्गमस्थल बाट उत्तर तर्फ इन्द्रावती तथा पूर्वी क्षेत्रमा सुनकोशीमा मोटरबोटले सफल रूपमा सञ्चालन भएको जनाइएको हो । पहिलो पटक गत हप्ता गरिएका परीक्षण बाट अवरोध नदेखिएको भुजेलले बताए ।  “परीक्षणले राम्रो सम्भावना देखिएको प्राविधिकले बताएका छन्, आवश्यक थप परीक्षण बाट कसरी सञ्चालन गर्ने भन्ने बारे दुई पक्ष बीच छलफल गर्नेछौँ”, उनले भने । उनका अनुसार सरकारको केन्द्रीय कार्यक्रम अनुसार दोलालघाट बाट सुनसरीको चतरा सम्म सञ्चालन गर्ने योजना बनाइएको छ ।
 
सफल परीक्षण पछि पहिलो चरणमा दोलालघाट बाट खहरेघाट सम्म एक किलोमिटरमा मोटरबोट सञ्चालन गरिनेछ । पहिलो चरणमा मनोरञ्जनात्मक रूपमा एक किलोमिटरको दूरीमा आवश्यकतानुसार थप मोटरबोट व्यवस्थापन गरी सञ्चालन गरिने जनाइएको हो । मोटरबोट सञ्चालनले आन्तरिक एवं बाह्य पर्यटक मार्फत भुम्लुको पर्यटन प्रवर्द्धन तथा अन्य विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

दोलालघाट बाट चतरा सम्म सञ्चालन हुने भएपछि गाउँपालिकाले एक मोटरबोट खरिद गर्ने सम्मको योजना बनाएको भुजेलले जानकारी दिए पर्यटन प्रवर्द्धनको उद्देश्यसाथ दोलालघाट बाट सिन्धुलीको नेपालथोक सम्म सुनकोशीमा करिब पाँच किलोमिटरको दूरीमा र्याफ्टिङ सञ्चालन गर्दै आइएको छ । 
रासस 

प्रतिक्रिया