राम जानकी विवाहपञ्चमी महोत्सवः तेस्रो दिन ‘धनुष यज्ञ’
जनकपुर । जनकपुरधाममा हरेक वर्ष शुक्ल पञ्चमीमा सप्ताहव्यापी रूपमा मनाइने राम जानकी विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन ‘धनुष यज्ञ’ आयोजना गरिदैछ ।
आज(मंगलबार) बेलुका चार बजे देखि जानकी मन्दिरपरिसरमा धनुष यज्ञ हुनेछ । धनुष यज्ञ मनाउन जानकी मन्दिरको प्रांगणमा मञ्च बनाइएको छ । त्यही मञ्चमा धनुष राखेर धनुष यज्ञ हुनेछ । आजका दिन रामका स्वरुप बनेका बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने गरिन्छ ।
त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेको शिव धनुषलाई राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीता बीच विवाह भएको थियो । त्यसकै सम्झनामा रामजानकी विवाह महोत्सव शुुरु भएको तेस्रो दिन धनुष यज्ञ मनाउँदै आएको छ ।
अयोध्याका राजा दशरथका छोरा भगवान श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् । सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवको पहिलो दिन साँझ जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ गराइएको थियो । दोस्रो दिन विवाह मण्डपको बंगैचामा फूलबारी लीला दर्शन गराइएको थियो । चौथो दिन तिल्कोत्सव, पाँचौं दिन मटकोर तथा पूजा कार्यक्रम मनाइने र छैटौं दिन अर्थात् सीता रामको विवाह कार्यक्रम सम्पन्न भएपछि रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सित बीच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष एक हप्ता सम्म धुमधामले विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।
प्रतिक्रिया