कीर्तिपुरमा कांग्रेसको शानदार पुनरागमन, मेयरमा कृष्णमान डंगोल विजयी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले शानदार पुनरागमन गरेको छ । 

२०७९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेका नेता केशवरत्न बज्राचार्यलाई ३ हजार ३ सय ३६ मतान्तरले पराजित गर्दै कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर विजयी भएका थिए । आइतबार सम्पन्न उपनिर्वाचनमा आफ्नो विसारत जोगाउँदै कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार शिवशरण महर्जनलाई पराजित गर्दै डंगोल विजयी भएका हुन् ।

कांग्रेसका  डंगोलले ५ हजार ३ सय ३४ मत प्राप्त गरेका छन् भने माओवादी उम्मेदवार शिवशरण महर्जन ४ हजार ५ सय ५५ मतमै रोकिए ।

यहाँ नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर तेस्रो हुन पुगे । शुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो भएका हुन् । तेस्रो भएका मानन्धर  ४ हजार ३ सय ३७ मतमै सिमित हुँदा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ मत पाए ।

कुल ३१ हजार १ सय १२ मतदाता रहेको कीर्तिपुरमा आइतबार भएको मतदानमा २१ हजार ३ सय ६२ मत खसेको थियो ।

२०७९ सालको निर्वाचनमा कांग्रेसबाट विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया