वर्तमान सरकार ढालेर सरकारमा जान माओवादी लालायित छैन : उपाध्यक्ष श्रेष्ठ
सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु सरकारमा जान हतार नगर्ने बताएका छन् ।
सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नं. ३ मुसहर्नियामा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उद्घाटन सत्रमा उनले भने, “वर्तमान सरकार ढालेर सरकारमा जान लालायित छैनौं । मुख्य कुरा परिवर्तन ल्याउन सक्ने गरी मात्र सरकारमा जान्छौं ।”
पार्टीले यतिबेला सरकारभन्दा पनि पार्टी र सङ्गठन निर्माणलाई जोड दिएको उनको भनाइ थियो । नेता श्रेष्ठले पाँच वटा कार्यभार आत्मसात गरेर माओवादी पार्टीअघि बढेको बताए ।
“राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता जोगाउने पहिलो कार्यभार हो भने आन्दोलनको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु दोस्रो कार्यभार हो । मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानु तेस्रो कार्यभार हो”, उनले भने, “सुशासनको ग्यारेण्टी गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउनुु चौथो कार्यभार हो । हामी कम्युनिष्ट भएकाले मुलुकमा पूर्ण समाजवाद कायम गराउनु हाम्रो मूल अभिष्ट र मुख्य कार्यभार हो ।”
प्रतिक्रिया