सिरियामा बसर अल असद विरुद्ध विद्रोही समूहहरू अचानक किन अघि बढे ?
एजेन्सी । गत वर्ष अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणपछि इजरायलले सुरु गरेको युद्ध अझै समाप्त भएको छैन ।
यो युद्ध नसकिदै सिरियामा अर्को युद्ध सुरु भएको छ । सिरियामा पछिल्ला केही दिनमा जे भइरहेको छ त्यसले मध्यपूर्वमा युद्ध अन्त्य हुन नसकेको प्रमाण स्पष्ट दिएको छ ।
सिरियाका राष्ट्रपति बसर अल–असदको शासन सन् २०००देखि शुरु भएको थियो । सन् २०११ बाट सिरियामा शान्तिपूर्ण नागरिक बिद्रोह भएको थियो ।तर पछि यो गृह युद्धमा परिणत भयो र दशकसम्म भएको गृह युद्धमा पनि असदले आफ्नो सत्ता दमन गरेर जोगाए यसको लागि उनले तयारी गरेका थिए र आफ्नो बुबा हाफिज अल असदबाट धेरै कुरा सिकेका थिए।
शक्तिशाली सहयोगी इरान, रुस र लेबनानी हिजबुल्लाहबाट सहयोग पाएका कारण बसर अल असद आफ्नो शक्ति जोगाउन सफल भए ।
यी सहयोगीहरूले सिरियामा विद्रोही समूहहरू विरुद्ध बसर अल–असदलाई मद्दत गरेका थिए। सिरियामा धेरै विद्रोही समूहहरू थिए, जिहादी चरमपन्थी इस्लामिक राज्यदेखि लिएर अन्य धेरै सशस्त्र समूहहरू, जसलाई अमेरिका र खाडीका अन्य केही सरकारहरूबाट सहयोग मिलिरहेको थियो।
हाल इजरायलसँगको तनावका कारण इरानको अवस्था कमजोर छ । यसमा पनि अमेरिका इजरायलको साथमा छ । इरानको सहयोगी हिजबुल्लाहले पनि बसर अल असदलाई बचाउन आफ्ना लडाकुहरू पठाउँथे तर इजरायली आक्रमणका कारण हिजबुल्लाहले पनि आफ्नो शक्ति गुमाएको छ ।
पछिल्ला केही दिनमा रुसले सिरियामा बसर अल–असदको समर्थनमा विद्रोही समूहहरूमाथि हवाई हमला गरेको थियो । तर युक्रेनसँगको युद्धका कारण रुसको सैन्य क्षमता पहिलेको जस्तो छैन । यसकारण यही मौकामा त्यहाँ रहेका बिद्रोही समूह असदलाई सत्ताबाट हटाउन खोजिरहेका छन् । सिरियामा असदले सत्ता सम्हाले यता ५ लाख मानिसको मृत्यु भइसकेको छ ।
सिरियामा युद्ध समाप्त भएको छैन। सिरियामा जे भइरहेको छ ती घटना संचार माध्यमको हेडलाइनमा थिएनन् । किनभने मध्यपूर्वमा अन्य धेरै कुराहरू भइरहेका छन् । जसले सिरियामा भएका घटनाहरुलाई ओझेलमा पारेको थियो। अर्काे कारण सिरियामा पत्रकारहरूको पहुँच नहुनु पनि हो ।
बशर अल–असदले सन् २०११ अघि आफूसँग भएको सत्तामाथिको नियन्त्रण अझै काम नै राखिराखेका छन् । गत शुत्रबार मात्रै सिरियाको दोस्रो ठूलो सहर अलेप्पो माथि बिद्रोहीले कब्जा जमाएका थिए ।
प्रतिक्रिया