औपचारिक रुपमा एमसिसी कार्यान्वयन सुरु

मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी कार्यान्वयनको पाँचबर्षे अवधि आजदेखि सुरु भएको छ । आज सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामेरोन अल्फोर्डले पूर्णरुपमा लागू हुने मिति ‘ईआईएफ’सम्बन्धी पत्र आदान–प्रदान गरेका हुन । सो क्रममा  अर्थमन्त्री डा. महतले परियोजनाबाट नेपालको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
एमसीसीका उपाध्यक्ष अल्फोर्डले नेपालको आर्थिक वृद्धिलाई अगाडि बढाउन सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । एमसीसीले व्यावसायिक अवसर, रणनीतिक सडक सञ्जाल र विद्युत् आपूर्तिको विश्वसनीयतामा सुधार गर्ने उनको भनाइ छ । 
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले विद्युत् तथा यातायातमा नेपाली जनताको पहुँचमा सुधार गरेर सहयोगले नेपालको सम्बृद्धिमा सघाउने बताए । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले निश्चित बजेट र समयावधिमा आयोजना पूरा गर्ने दाबी गरे । 
सहयोगवाट ३ सय १५ किलोमिटर चार सय केभी प्रसारणलाइन र तीन वटा सबस्टेसन तथा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने ७१ किलोमिटर सडक आधुनिक प्रविधि प्रयोग गरेर मर्मत हुनेछ । परियोजना ५० करोड अमेरिकी डलर अनुदानको हो । यसमा नेपालले थप १९.७ करोड डलर लगानी गर्नेछ । परियोजना पाँच वर्षभित्र नसकिए अमेरिकी सरकारले ५० करोड डलर अनुदान फिर्ता लैजानेछ ।

प्रतिक्रिया