अब राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा लाग्ने भिड हट्ने भयो
काठमाडौ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा र फर्किदा स्वागत र बिदाइमा विमानस्थलमा लाग्ने भिआइपी र भिभीआइपीको भिडमा कमी आउने भएको छ ।
गृह मन्त्रालयले ’अति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) कार्यविधि, २०८१’ मा संशोधन गरी विशिष्ट र अति विशिष्ट व्यक्तिहरूको विदेश भ्रमण हुँदा बिदाइ र विदेशबाट फर्किँदा स्वागत गर्न अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुने व्यक्तिको संख्यामा कटौती गरेको हो । यससँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका अति विशिष्ट र विशिष्ट (भीभीआईपी) वयक्तिहरु विदेश भ्रमण जाँदा र फर्किँदा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने राज्यका उच्च पदस्थ अधिकारीहरूको भिडमा कमी आउने भएको हो ।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभा अध्यक्ष अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ र स्वागतका लागि जानु नपर्ने व्यवस्था गरिएको छ ।
अबदेखि राष्ट्रपति विदेश भ्रमणमा जाँदा र विदेश भ्रमणबाट फर्किँदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रधानसेनापति, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र शिष्टाचार महापाल मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुन सक्नेछन् ।
त्यस्तै संशोधित कार्यबिधि अनुसार उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र आउँदा विमानस्थलमा प्रधानमन्त्री, परराष्ट्र मन्त्री, प्रधान सेनापति, उपराष्ट्रपति कार्यालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिव, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख मात्रै उपस्थित भए हुनेछ ।
यसैगरी प्रधानमन्त्री विदेश जाँदा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मुख्यसचिव, प्रधानसेनापति, परराष्ट्र मन्त्रालय र सञ्चार मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुन पाउनेछन् ।
यसले विमानस्थलमा लाग्ने अनावश्यक भिड हट्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया