प्रदेश प्रमुख र मुख्यमन्त्री भवनको नक्सापास नभएको खुलासा
ललितपुरको भैसेपाटीमा निर्माण भएको प्रदेश प्रमुख र मुख्यमन्त्री भवनको नक्सापास नभएको खुलासा भएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवास भवन तयार भएर हस्तान्तरण भइसक्दा समेत नक्सापास नै नभएको खुलेको हो । गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले तामझामसहित आवास भवन मुख्यमन्त्री र प्रदेशप्रमुखलाई हस्तान्तरण गरेका थिए । मन्त्रीहरुका लागि आवास भवन निर्माण अन्तिम चरणमा रहेको छ । शहरी विकास मन्त्रालयको भवन निर्माण आयोजनाले भने नक्सापासका लागि सम्पूर्ण कागजात ललितपुर महानगरमा बुझाइसकेको दाबी गरेको छ । नागरिकले नक्सापास बिना भवन निर्माण गर्नै नसक्ने अवस्थामा सरकारले भने कानुनविपरीत प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुका लागि आवास भवन निर्माण गरेको हो । ललितपुर महानगरले आवासको नक्सा महानगरमा दर्ता भएर सरजमिनका लागि वडामा पठाए पनि फिर्ता आएको बताएको छ । चार पाँच पटक वडाले प्रयास गर्दा पनि नभएपछि फेरि नक्सा महानगरमै फिर्ता भएको हो ।।
प्रतिक्रिया