फेङ्गल आँधीका कारण दक्षिण भारतमा ३ जनाको मृत्यु
एजेन्सी । भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा ३ जनाको मृत्यु भएको छ । आँधी बाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।
फेङ्गल नाम दिइएको चक्रवात शनिबार अबेर राति ७० देखि ८० किलोमिटर प्रतिघण्टा (४३–५० माइल प्रतिघण्टा) को गतिमा तमिलनाड राज्यको तटीय क्षेत्रमा अवतरण गरेको थियो ।
तमिलनाडुराज्यका विपद् व्यवस्थापन मन्त्री के.के.एस.एस.आर. रामचन्द्रनले शनिबार राति चेन्नईमा आएको आँधीका कारण तीन जनाको मृत्यु भएको र उनीहरूको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए । तर, आँधी बाट भएको अन्य क्षति भने ‘न्यून’ रहेको उनले बताए ।
‘द टाइम्स अफ इन्डिया’ले मृतकको सङ्ख्या चार रहेको उल्लेख गर्दै आँधीका कारण कतिपय क्षेत्रमा बाढी आएको र रुखहरू ढलेको तर अनुमान गरिए भन्दा कम क्षति भएको उल्लेख गरेको छ ।
उत्तरी एटलान्टिक महासागरमा आँधीबेहरी वा उत्तर–पश्चिमी प्रशान्त महासागरमा आँधीबेहरी र आँधीजन्य मौसमी विपत यस क्षेत्रका वस्तीहरूका लागि एक नियमित र घातक जोखिम हो ।
यो आँधी आइतबार पछि बिस्तारै कमजोर हुँदै जाने अनुमान गरिएको छ भने भारतको मौसम विज्ञान विभागले भारतको दक्षिणी क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ ।
विभागले आँधीको जोखिम रहँदा सम्म समूद्रमा माछा मार्ने वा अन्य गतिविधि बाट टाढा रहन स्थानीयलाई सुझाव दिएको छ भने केही क्षेत्रमा “मध्यमदेखि उच्च बाढीको जोखिमको’ रहेको बताएको छ।
फेङ्गलले यसै साताको शुरुमा श्रीलङ्काको समुद्री तटमा अवतरण हुँदा छ बालबालिका सहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो । जीवाश्म ईन्धनको प्रयोगले हुने जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै शक्तिशाली आँधीबेहरी जन्य विपत् अझ बढ्न थालेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
समुद्रको तातो सतहले अधिक जलवाष्प छोड्छ, जसले आँधीबेहरीलाई अतिरिक्त ऊर्जा प्रदान गर्दछ र शक्तिशाली हावाहुरीमा परिणत गर्छ ।
रासस
प्रतिक्रिया