बेमौसमी काँक्राखेती बाट तीन महिनामै डेढ लाख आम्दानी
कञ्चनपुर । बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै डेढ लाख बढी आम्दानी गरेका छन् ।
तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गरेका छन् । हाल सम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताए । काँक्रा प्रतिकिलो ७० देखि ८० मा बिक्री हुँदै आएको छ ।
काँक्रा रोप्ने देखि टिपेर बजार सम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् । बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरिया लगायत बजारमा बिक्री हुने गरेको छ । “स्थानीय व्यापारीले काँक्रा बारी बाटै खरिद गरेर लैजाने गरेका छन्”, चौधरीले भने, “व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पुर्याएर बिक्री गरिँदै आएको छ ।” अझै बारीमा एक लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उनले बताए ।
गत वर्ष उनले दुई लाख मूल्यका बेमौसमी काँक्रा बिक्री गर्नुभएको थियो । पिपलाडी गाउँमा व्यावसायिक तरकारीखेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रा उत्पादन गर्नेमा चौधरी एक्ला किसानका रुपमा रहेका छन् । बेमौसमी काँक्राखेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्ष देखि निरन्तर रुपमा गर्दै आएको चौधरी बताए ।
भारतीय तरकारीखेती गर्ने व्यक्तिहरु बाट चौधरीले बेमौसमी तरकारीखेती गर्ने तौरतरिका सिकेको बताए । काँक्रा सँगै चौधरीले लौका, भन्टा, खुर्सानी, तितेकरेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडी लगायतको खेती गरेका छन् ।
काँक्राखेती बाट तीन लाख र अन्य तरकारीखेती गरी वर्षमा उनले सात लाख देखि १० लाख सम्मको आम्दानी गर्दै आएका छन् । तरकारीखेती गरी आएको आम्दानी बाट चौधरीले छोरालाई काठमाडौंमा डेरामा राखेर मेकानिकल इञ्जिनियर पढाउँदै आएका छन् । उनले छोरीलाई महेन्द्रनगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आएका छन् ।
“तरकारीखेती बाट आएको आम्दानी मध्ये केही छोराछोरीका लागि खर्च हुन्छ”, चौधरीले भने, “बाँकी रहेको रकम घरखर्चमा सकिन्छ ।” पिपलाडी गाउँमा तरकारीखेतीमा ५० बढी परिवार संलग्न रहेका छन् । त्यस मध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ । चौधरीले एक दशकअघि देखि तरकारीखेतीमा संलग्न रहँदै आएका छन् । व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिले सम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गरे ।
रासस
प्रतिक्रिया