एमसीसी सम्झौता आजबाट कार्यान्वयनमा जाँदै
एमसीसी उपाध्यक्षको उपस्थितीमा अर्थ मन्त्रालयमा विशेष कार्यक्रमको आयोजना
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आजदेखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ । आज अर्थ मन्त्रालयमा विशेष कार्यक्रम गरेर एमसीसी कार्यान्वयनमा गएको घोषणा हुने भएको हो । एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डको उपस्थितीमा नेपालसँगको एमसीसी सम्झौताको सुरुआत घोषणा हुने बताइएको छ । एमसिसीको कार्यावधि कार्यान्वयनमा प्रवेश गरेको आजदेखि पाँच वर्षको हुनेछ । कार्यान्वयन चरणमा प्रवेश गराउनुपूर्व नेपाल सरकारले पूरा गर्नुपर्ने अधिकांश पूर्वसर्त पूरा भएका छन् । छ वटा प्राथमिक पूर्व शर्तमध्ये छैटौँ वातावरणीय प्रभाव मूल्याङ्नको स्वीकृति तथा जग्गा अधिग्रहण र रुख कटानी पुरा हुन बाँकी छ । पूरा भएका पूर्व शर्तहरूमा विद्युत् प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा, विद्युत् नियमन आयोग ऐन लागू गरी आयोग गठन, कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर, नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि भारत सरकारसँगको सहमतिमा योजना तर्जुमा र संसद्बाट कम्प्याक्टको अनुमोदन भएको छ । नेपाल सरकारले एमसिसी कम्प्याक्टमा ६ दशमलव ७० करोड अमेरिकी डलर आफ्नो लगानी पनि थपेको छ । सुरुवाती सम्झौतामा एमसीसीका तर्फबाट ५० करोड डलर अनुदान र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने सहमति भएको थियो । सरकारका तर्फबाट थप गरिएको लगानी एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत विद्युत् प्रसारण आयोजनाका लागि उपयोग गरिने बताइएको छ । एमसीसीअन्तर्गत तीन वटा सबस्टेसन निर्माण हुने छन् । यस आयोजना अन्तर्गत राष्ट्रिय राजमार्ग सञ्जालको कुल १ सय ३० किलोमिटर सडकमा काम गरिने छ । परियोजनाको कुल लागत एमसीसीको ५० करोड अमेरिकी डलर, नेपाल सरकारले सुरुमा तय गरेको १३ करोड अमेरिकी डलर र चालू आर्थिक वर्षमा थपिएको ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर रहेको छ ।
प्रतिक्रिया