बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण शुरु भएको छ ।
व्यास नगरपालिकाको समपूरक योजना अन्तर्गत ६ करोड ११ लाख ३ सय २४ लागतमा निर्माणाधीन उक्त पुलको ५० प्रतिशत बढी भौतिक प्रगति भएको हो । पुल २५ मिटर लम्बाइ र ८ दशमलव ४० मिटर चौडाइको हुनेछ ।
पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेल बताए ।
हाल पुल निर्माण गरिएको स्थान नजिक कजवे बाट (पाइप राखेर बनाइएको अस्थायी संरचना) सवारीसाधान आवतजावत हुँदै आएको थियो । वर्षायामको समयमा खोलामा बाढी आउँदा कजवे बाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो ।
आगामी भदौ २२ गते भित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी ज्वालामुखी कन्स्टक्सन सँग सम्झौता भएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए । कम्पनीले गत वैशाख देखि निर्माणलाई निरन्तरता दिएकाले छोटो अवधिमा उल्लेख्य प्रगति हासिल भएको उनको भनाइ छ ।
“सम्झौता अवधि भन्दा अगावै सम्पन्न गर्ने अपेक्षा गरिएको छ”, शाखा अधिकृत तिवारीले भन्नुभयो, “निर्माण कम्पनीले फागुन भित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।” सम्झौता अगावै निर्माण सम्पन्न गरेमा नगरपालिकाले पुरस्कृत गर्ने योजना बनाएको उनले बताए ।
रासस
प्रतिक्रिया