स्थानीय तह उप-निर्वाचन : शान्तिपूर्ण रूपमा मतदान हुँदै

काठमाडौं ।  स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

हेटौँडा बाट हाम्रा स्थानीय प्रतिनिधिले जनाए अनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा ८ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो । सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन् । 

यसैगरी, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ ।   दुवै वडा बाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा नं. १ मा एक स्वतन्त्र सहित ८ जना तथा वडा नं ४ मा पनि एक महिला सहित ८ जना उम्मेदवार छन् । जिल्ला निर्वाचन  कार्यालयका अनुसार  डाक्नेश्वरी नगरपालिका– १ मा दुई हजार ६३५ र वडा – ४ मा एक हजार २८१ मतदाता छन् । 

दैलेख स्थित महावु गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि दुई मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । आज बिहान निर्धारित समयमा शुरु भएको मतदानमा ९२ वर्षीया जगत्कुमारी सिंहले पहिलो मतदान गरेकी हुन् । उक्त निर्वाचनमा सात उम्मेवार बीच प्रतिस्पर्धा हुँदैछ । उक्त वडामा एक हजार सात सय ६० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

त्यसैगरी हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको सिमकोट स्थित हाम्रा समाचारदाताले जनाएका छन् । सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मा.वि., कोट मा.वि., अंशुवर्मा मा.वि. र नीलकण्ठ सामुदायिक प्रा.वि.मा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन् । 
रासस 

प्रतिक्रिया