म्याग्दीको झिँ–टोड्के सडक स्तरोन्नति शुरु

म्याग्दी । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा रहेको पर्यटकीय स्थल टोड्के पुग्ने सडक स्तरोन्नति प्रारम्भ भएको छ ।

हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकनका लागि नयाँ गन्तव्यका रूपमा विकास भएको टोड्के भ्रमणमा जाने पर्यटकका साथै स्थानीयवासीको सहजताका लागि रघुगङ्गा गाउँपालिका–५ झिँ बाट सडक स्तरोन्नति प्रारम्भ गरिएको हो ।

रघुगङ्था गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले चालु आर्थिक वर्षका लागि गाउँपालिकाले विनियोजन गरेको ५० लाख बजेटबाट सडक फराकिलो पार्ने, पानीको निकासका लागि नाला निर्माणका साथै ८० मिटर ढलान गरिने बताए । 

“झिँ–टोड्के छ किलोमिटर सडक मध्ये यस वर्षको बजेट बाट अप्ठ्यारो र साँघुरो ठाउँलाई सहज बनाउन उपभोक्ता समितिबाट मजदुर र डोजर परिचालन गरेर काम थालिएको छ”, उनले भने । 

सङ्घीय सहरी विकास मन्त्रालय बाट विनियोजित १ करोड ५० लाख बजेट बाट मङ्गला गाउँपालिकाको कुहुँ–भिरकटेरा–टोड्के र टोड्के–झिँ खण्डमा पनि स्तरोन्नति गर्न बोलपत्र आह्वान भएको छ । 
रासस 

प्रतिक्रिया