रुसको पिस्कोभ विमानस्थलमा ड्रोन आक्रमण, चार वटा मालबाहक विमान ध्वस्त

रुसको उत्तर पश्चिमी सहर पिस्कोभस्थित एउटा विमानस्थलमा भएको ड्रोन आक्रमणमा चार वटा मालबाहक विमान ध्वस्त भएका छन् । मानवीय क्षतिबारे भने कुनै विवरण सार्वजनिक भएको छैन । इस्टोनियासँगको सीमा नजिकै पर्ने पिस्कोभ सहर युक्रेनबाट करिब ६ सय किलोमिटरको दूरीमा पर्दछ । आक्रमणमा आफ्नो संलग्नता रहे÷नरहेकोबारे युक्रेनले केही प्रतिक्रिया नजनाए पनि मस्कोलगायत रुसका अन्य सहरमा यसअघि भएका ड्रोन आक्रमणमा झैं उसको हात रहेको आशंका गरिएको छ । केही दिनअघि मात्रै सेन्ट पिटर्सबर्ग शहर नजिकै युक्रेनले गरेको ड्रोन आक्रमणमा लामो दूरीको मार हान्ने रुसी बम वर्षक विमान ध्वस्त भएको थियो । यस्तै गतसाता बेलगोरोड क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जना मारिएका थिए । राजधानी मस्कोका भवनहरुमा पनि यसअघि थुप्रै पटक ड्रोन आक्रमणहरु भइसकेका छन् भने राष्ट्रपति कार्यालयलाई लक्षित गरेर समेत ड्रोन आक्रमणको प्रयास भएको छ । उता, रुसी सेनाले कृष्ण सागरमा ४ वटा युक्रेनी पानी जहाज ध्वस्त पारेको दाबी गरेको छ । हरेक जहाजमा कम्तीमा ५० जना युक्रेनी सैनिक रहेको रुसको दाबी छ । यसैगरी रुसको मध्य तथा दक्षिणी क्षेत्रमा ४ वटा युक्रेनी ड्रोन खसालेको दाबी पनि रुसले गरेको छ । आक्रमणपछि रुसले मस्कोमा सुरक्षा व्यवस्था कडा पार्दै भानकोबो बिमानस्थलमाथिको आकाशमा केही समय उडान निषेध गरेको थियो । 
 

प्रतिक्रिया