विर्तामोडका ६ वटा सडक धमाधम स्तरोन्नति हुँदै

झापा । विर्तामोड नगरपालिकामा सघन शहरी विकास कार्यक्रम अन्तर्गत ६ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ भने सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । 

शहरी विकास मन्त्रालयले विर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा १३ करोड बजेट विनियोजन गरेको थियो । उक्त रकम मध्ये ६ करोड ३१ लाख ३२ हजार ६०२ को लागतमा ६ वटा सडक कालोपत्र थालिएको छ । बाँकी रकम बाँकी रकम वडा नं ६ को हरियाली सामुदायिक वनमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण जारी छ । उक्त भवनको ९० प्रतिशत निर्माण पूरा भएको छ । 

नगरप्रमुख पवित्रा महतराका अनुसार वडा नम्बर १,२,३,६ र ८ का केही सडक कालोपत्र भइरहेका छ भने केहीको स्तरन्नति एवं कालोपत्रका निम्ति पूर्वतयारीका काम जारी छन् । वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा सडक धमाधम निर्माण भइरहेको छ । सो सडकमा विद्युतका खम्बा व्यवस्थापन भइरहेको छ ।

वडा नम्बर ३ को करेलाबारी बाट ग्रामकाली टोल हुँदै विराटपोखर विद्यालय सम्मको सडक र वडा नम्बर ८ को गरामनी– कटहरडाँगी–हल्दीबारी सडकमा कालोपत्र गर्न थालिएको छ  । हाल सम्म पूर्वपश्चिम राजमार्ग बाट दक्षिण बुट्टाबारी बिर्ताबजार सडकको एक हजार २४० मिटर खण्डको काम पूरा भएको छ ।
रासस 

प्रतिक्रिया