बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो ।त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ । यस अनुसार अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र बाँकी क्षेत्रमा १५७।५० रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ पर्ने छ भने अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्ने भएको छ । खाना पकाउने ग्यासको भने मूल्य यथावत् रहेको निगमतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै ग्यासको मूल्य बढेर आएपनि अहिलेलाई यथावत् राखिएको निगमले बताएको छ ।

प्रतिक्रिया