एशिया कप आजदेखि शुरु, पहिलो खेलमा नेपाल पाकिस्तानसँग भीड्दै

एशिया कप क्रिकेट आजदेखि पाकिस्तानमा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा तीन बजे शुरु हुनेछ । खेलका लागि ३० हजार दर्शक क्षमताको स्टेडियमका सबै टिकट बुकिङ भइसकेका छन् । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजमले गर्नेछन् । नेपालले दुई पटक एसिया कपको उपाधि जितेको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेलपछि नेपाली टोली श्रीलंका जानेछ । नेपालले भदौ १८ मा भारतसँग श्रीलंकामा समूह चरणको अन्तिम खेल खेल्नेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो । एशिया कप भदौ ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । भारतले सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु ९ खेल श्रीलंकामा हुने तय भएको हो । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन । एसिया कप क्रिकेटको उद्घाटनलाई पाकिस्तानले भव्य बनाउने तयारी गरेको छ । नेपाल र पाकिस्तानबीच खेल हुने मुल्तान मैदानमा उद्घाटन समारोह र खेल हुनेछ । उद्घाटन समारोह भव्य बनाउनका लागि पाकिस्तानले आतिशबाजी, ड्रोन र रेजर लाइटको प्रयोग गर्ने बताइएको छ । उद्घाटन समारोह भव्य बनाउने क्रममा नेपालकी गायिका त्रिशला गुरुङले पनि प्रस्तुती दिनेछिन् । आइमा बेग र नेपालकी त्रिशला गुरुङले प्रस्तुती दिने पाकिस्तान क्रिकेट बोर्ड पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।। 
 

प्रतिक्रिया