अनिल शाह भन्छन् – पहिलो खेल जित्दा खुसी लाग्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेटको उद्घाटन खेलमा सफलता हासिल गरेको जनकपुर बोट्ल्सका कप्तान अनिलकुमार शाहले प्रतियोगितामा विजयी सुरूआत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको एनपिएलको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई आठ विकेटले पछि पार्दै जित निकालेको थियो ।

कप्तान शाहले आफ्नो टोली प्रतियोगिताका लागि तयारी अवस्थामा रहेकाले पनि जित हासिल गर्न सहज भएको बताए । उनले मुख्य प्रशिक्षक पुबुदु दासानायकेको योजनाअनुसार खेलाडीले खेलेकै कारण प्रतियोगितामा सुखद शुरूआत गर्न सफल भएको बताए ।

विराटनगरले दिएको एक सय २८ रनको लक्ष्यलाई जनकपुरले १५ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । त्यसअघि विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रनको योगफल बनाएको थियो । 

एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन । यही मङ्सिर १७ गते भने दुई खेल हुनेछ । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजको सामना गर्नेछ । 

त्यस्तै, दिउँसो १ः१५ बजे हुने दोस्रो खेलमा जनकपुर बोट्ल्सले कर्णाली याक्ससँग खेल्नेछ । स्वदेशी तथा विदेशी खेलाडीको वर्चस्व रहेको एनपिएलमा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया