निर्वाचन मस्यौदा संसदबाट छिटो पारित गराउन दवाव सृजना गरौंः दिनेशकुमार थपलिया

विधेयक जस्ताको तस्तै पारित भए अग्रगामी सुधार हुने दाबी

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब सृजना गर्नुपर्ने बताएका छन । आज निर्वाचन आयोगले काठमाडौंमा गरेको छलफलमा उनले आम नागरिकको आवाज निर्वाचनमार्फत मुखरित हुनेगरी आयोगले सो विधेयकको मस्यौदा तयार पारी सरकार समक्ष पेस गरेकाले त्यसलाई सदनबाट पारित गराउन आयोगले सम्बन्धित पक्षको दबाबको अपेक्षा गरेको बताएका हुन । प्रमुख आयुक्त थपलियाले निर्वाचन व्यवस्थापनसम्बन्धि सो कानूनको मस्यौदा सरकारले छिट्टै संसदमा पेस गर्ने विश्वास व्यक्त गर्दै सो मस्यौदा जस्ताको तस्तै पारित भए नेपालको निर्वाचन सुधारको क्षेत्रमा अग्रगामी कदम हुने जिकिर समेत गरे ।  
प्रमुख निर्वाचन आयुक्त थपलियाले मस्यौदामा भोट हाल्दिन भन्ने नागरिकको अधिकारलाई पनि सुनिश्चि हुनेगरी मतपत्रमै भोट हाल्दिन भन्ने संकेतसहितको चुनाव चिन्ह पनि समावेश गर्ने प्रश्ताव गरिएको जानकारी दिए । ५० प्रतिशत भन्दा बढि मतदाताले कुनै उम्मेदवारलाई मत हाल्दिन भन्ने चिन्हमा मत हाले उसको उम्मेदवारी स्वतः रद्द हुने व्यवस्था पनि सो मस्यौदामा उल्लेख गरिएको र त्यो प्रावधान निर्वाचन सुधारका लागि कोशेढुंगो सावित हुने दाबी उनको छ । सो विधेयकको मस्यौदामा विदेशमा रहेका नेपालीहरुले पनि सम्बन्धित देशको कुटनीतिक नियोग वा राजदुतावासमार्फत मतदान गर्न पाउने, उपनिर्वाचनहरु जिल्ला निर्वाचन कार्यालयको नेतृत्वमा सम्पन्न गर्नेलगायतका प्रावधान पनि राखिएको निर्वाचन आयोगले जनाएको छ । 

प्रतिक्रिया