थाइल्यान्डमा बाढीका कारण ९ जनाको मृत्यु, हजारौं विस्थापित

एजेन्सी । दक्षिणी थाइल्यान्डमा भारी वर्षा पछिआएको बाढीले नौ जनाको ज्यान लिनुका साथै १३ हजार भन्दा बढी विस्थापित भएको अधिकारीहरूले शनिबार बताएका छन् । 

उद्धार टोलीहरूले डुङ्गा लगायतका सामाग्रीको प्रयोग गरेर फसेका बासिन्दाहरूको उद्धार गर्ने प्रयास गरिरहेको उनीहरुले बताएका छन् । स्थानीय मिडियाहरुले प्रसारण गरेका फुटेजमा बासिन्दाहरू तथा  गाढीहरू बाढीको सडकमा डुबेको देखाइएको छ ।

“दक्षिणी थाइल्यान्डका आठ प्रान्तमा आएको बाढीले पाँच लाख ५३ हजार ९२१  घरपरिवारलाई  प्रभावित गरेको तथा एजेन्सीहरूलाई तत्काल सहायता परिचालन गर्न निर्देशन दिएको देशको विपद् एजेन्सीले आधिकारिक पेज मार्फत जनाएको छ ।

विस्थापितहरुलाई विद्यालय तथा मन्दिरहरूमा अस्थायी आश्रय स्थलहरू स्थापना गरी स्थानान्त्रण गरिएको स्रोतले जनाएको छ ।  तटीय सोङ्खला प्रान्तकी बासिन्दा नाम्पाले थाई पिबिएसलाई घट्दो खाद्यान्न आपूर्तिको बारेमा चिन्तित रहेको बताए ।

नजिकैको पट्टनी प्रान्तका दुई अस्पतालहरूले बाढीले चिकित्सा सुविधाहरूलाई क्षति पुग्ने भएकाले  असपतालका सेवा  स्थगित गरेका छन् । 

छिमेकी उत्तरी मलेसियामा, वर्षाले यस हप्ता कम्तिमा ८० हजार मानिसहरूलाई अस्थायी आश्रयमा सार्न बाध्य पारेको बताउदै विपद् अधिकारीहरूले कम्तिमा चार जनाको मृत्यु भएको बताएको पुष्टि गरेका छन् । 

थाई मौसम विभागले आगामी हप्तासम्म देशको दक्षिणका केही क्षेत्रहरूमा भारी वर्षा जारी रहन सक्ने चेतावनी दिएको छ । सरकारले प्रभावित बासिन्दाहरूलाई सहयोग गर्न उद्धार टोली तैनाथ गरेको छ भने प्रत्येक प्रान्तका लागि बाढी राहतमा १.७ मिलियन डलर तोकिएको छ ।

थाई प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले शुक्रबार सामाजिक सञ्जाल एक्समा “सकेसम्म चाँडो सामान्य स्थिति पुनःस्थापित गर्ने“ लक्ष्य रहेको बताए । 

वैज्ञानिकहरूले मानव निर्मित जलवायु परिवर्तनले मौसम ढाँचामा परिवर्तन निम्त्याइरहेको जनाउदै यसले विनाशकारी बाढीको सम्भावना बढ्ने बताएका छन् ।

प्रतिक्रिया