कांग्रेसलाई प्रधानमन्त्रीको अफर गरेको छैन : अध्यक्ष दाहाल

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेसलाई अफर नगरेको बताएका छन् ।

शनिवार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई प्रधानमन्त्री बनिदिन पर्‍यो भनेर फैलाएको कुरा झुटो भएको दाबी गरेका हुन् ।

केही दिनअघि कीर्तिपुरमा उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष दाहालले हप्ताको दुई-तीन पटक नेपाली कांग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका थिए । 

सोही बारेमा प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्दै ०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरुमार्फत आग्रह गरेको बताए ।

गगन थापासँग धेरै संवाद र सहकार्य गरेको बताउँदै उनले राम्रो सम्भावना बोकेको युवा नेताले यति अनैतिक र झुटो कुरा गरेको देख्दा दया लागेको बताए ।

उनले भने, ‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन । गगन थापालाई मैले एउटा युवा नेताको रूपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो । अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ । कति तल कति छिटो झर्न सकेको हो । त्यस्तो एउटा राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्न सक्ने भएको देख्दा उहाँप्रति मलाई साँच्चै दया लागेको छ ।’

प्रतिक्रिया