बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार
धरान (सुनसरी) । बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
विगत २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध अर्जुनले गोलभेँडा खेतीलाई प्रमुख उत्पदानको स्रोत बनाएका हुन् । श्रीलङ्का टप्पुका किसानका बारीमा अहिले मकै, सागसब्जी, आलु, कोपी, बोडी लगायत मौसम अनुसार तरकारी उत्पादन भइरहेका छन् । अर्जुनको व्यवसायमा उनका चार छोराले साथ दिइरहेका छन् । कृषि कर्मको आम्दानीबाट जीविकोपार्जन भइरहेको बताउँदै अर्जुनले गोलभेँडाबाट मात्रै सबै खर्च कटाएर २० लाख बचत हुने गरेको जानकारी दिए ।
अहिले करिब चार बिघा क्षेत्रफलमा गोलभेँडा खेती गरिरहेको अर्जुनका छोरा श्रीराम चन्द्रवंशीले बताए । गोलभेँडाबाट वार्षिक ३० लाख आम्दानी हुनेमा खेतीमा प्रयोग गर्ने मल, कर्मचारी लगायतको वार्षिक १० लाख जति खर्च हुने गरेको उनले बताए ।
गोलभेँडा अहिले थोकमा प्रतिकेजी एक सय रुपैयाँमा फार्मबाटै व्यापारीले खरिद गरेर लैजाने गरेका उनले बताए । “गत असोजमा आएको बाढीले चार कठ्ठा जति खेतीमा क्षति ग¥यो । बारीमा छरेको मल बगाउनुका साथै केही डुबानमा पनि प¥यो । बाढीले करिब तीन लाख बढीको क्षति भएको थियो । अहिले भने मौसमले साथ दिएकाले उत्पादन राम्रो भइरहेको छ”, श्रीरामले भने । गोलभेँडाको माग प्रशस्त भएकाले बजारीकरणको समस्या नरहेको उने बताए ।
उत्पादित कृषि उपज बजार बोकेर लैजानुपर्दैन । व्यापारी आफैँ गोलभेँडासहित अन्य सागसब्जी खरिद गर्न खेतबारीमै आउने गरेका उनाले बताए । खेतबारीमै खरीद गर्न आउनेलाई बजार मूल्यभन्दा २० रुपैयाँ कम लिने गरेको श्रीरामले बताए । धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, बराहक्षेत्र लगायत स्थानबाट व्यापारी फार्ममा गोलभेँडा खरिद गर्न आउने गरेका उनले जानकारी दिए ।
गोलभेँडा खेतीमा लगानी र दुःख बढी भए पनि मेहिनत गरे अनुसार प्रशस्त उत्पादन हुने भएकाले नोक्सान नहुने श्रीरामले अनुभव छ ।परिवारका चार दाजुभाइसहित थप २० जनाले रोजगारी समेत पाएका उनले बताए ।
गोलभेँडाको मौसममा कम मूल्यमा बिक्री गर्नुपरे पनि बेमौसममा रु एक सयदेखि रु एक सय ५० सम्ममा बिक्री हुने श्रीरामले जानकारी दिए । उनका अनुसार वार्षिक छ सय क्विन्टल बढी भोलभेँडा बिक्री हुने गरेको छ । अहिले करिब २० बिघा क्षेत्रफलमा कृषिखेती गर्दै आएको बताउँदै करिब चार बिघामा गोलभेँडा, चार बिघामा मकै र बाँकी जग्गामा कोपि, बोडी लगायत सागसब्जी खेती गरिरहेको श्रीरामले जानकारी दिए ।
जिल्लामा हाल आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए । “जिल्लाको बराहक्षेत्र नगरपालिकामा बढी मात्रामा गोलभेँडा, कोपी, बोडीलगायत सागसब्जीको प्रशस्त उत्पादन हुने गरेको छ ।सिँचाइ सुविधा, मलको उपलब्धता गायत कारणले पछिल्लो समय नगरभित्र गोलभेँडा सहित सागसब्जीको उत्पादन प्रशस्त हुन थालेपछि यहाँका अधिकांश परिवार यसतर्फ आकर्षित भएका नगरप्रमुख रमेश कार्कीले बताए । “यहाँका करिब ९० प्रतिशत परिवार तरकारी खेतीमा आबद्ध छन् ।
श्रीलङ्का टप्पु तरकारी खेतीका लागि प्रख्यात क्षेत्र मानिनुका साथै बजारीकरणको समस्या नभएकाले कृषकको आकर्षण बढेको हो”, उनले भने ।नगरपालिकाले स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जैविक तरकारीखेतीमा अनुदान, पशुपालन गर्नेलाई लगानीमा सहयोग, सिँचाइ सुविधा र उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण, प्राविधिक परामर्शलगायत क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको नगरप्रमुख कार्कीले बताए ।
रासस
प्रतिक्रिया