जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च

जुम्ला । जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च भएको छ । जिल्ला स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको विकास बजेटमा पहिलो चौमासिकका लागि तीन अर्ब पाँच लाख ९५ हजार छुट्याइएकोमा जम्मा १२ दशमलव ७१ प्रतिशत अर्थात्  ४० करोड ६९ लाख २१ हजार चार सय २७ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख हंशराज खनालले जानकारी दिए । 

उनले भने, “असारे विकासमा मोटो रकम निकासा हुनु पुरानै रोग हो । देशभर दोस्रो चौमासिक बाट काम शुरु हुने भए पनि जुम्ला लगायत हिमाली जिल्लामा दोस्रो चौमासिकमा चिसोका कारण विकास निर्माणका काम शुरु गर्न मुस्किल हुन्छ ।”
 
पहिलो चौमासिक कामका निम्ति उपयुक्त समय भए पनि बजेट निकासा, कार्यान्वयन लगायतका कयौँ कठिनाइ हुन गरेका छन् । यस्तो अवस्थामा विगतका वर्षहरूझैँ यो वर्ष पनि जुम्लाको पहिलो चौमासिकमा विकास निर्माणका निम्ति गरिएको खर्च निराशाजनक रहेको कार्यालय प्रमुख खनालको भनाइ छ ।
 
जिल्लामा सङ्घ अन्तर्गतका ३१ वटा सरकारी कार्यालयको बजेट कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत निकासा हुने गरेको छ । यहाँका आठवटै स्थानीय तहलाई विनियोजन गरिएको सङ्घीय अनुदानको बजेट कार्यालयले निकासा दिने गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत जिल्लाका अरु पाँच वटा अनुसन्धान केन्द्रहरू समेत कार्यालयकै मातहतमा पर्ने गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खनालले बताए ।  । 

पहिलो चौमासिकका निम्ति कूल पाँच अर्ब २८ करोड ८९ लाख ७० हजार मध्ये चालु खर्च निकासा भएकोमा २९ दशमलव ४० प्रतिशत अर्थात्  एक अर्ब ५५ करोड ४९ लाख ९८ हजार खर्च भएको छ । चालु र पुँजीगत गरी जम्मा २३ दशमलव ११ प्रतिशत खर्च भएको प्रमुख खनालको भनाइ छ । 

पहिलो चौमासिकमा सम्झौता भएका ठेकेदार कम्पनी र उपभोक्ता समितिलाई केही मात्रामा पेश्की रकम मात्रै निकासा गरिने भएको हुनाले खर्च कम देखिएको कोष तथा लेखा नियन्त्रण कार्यलयले जनाएको छ । प्रदेश अन्तर्गत जुम्लामा १४ वटा कार्यालय रहेका छन् । सो कार्यालयको निकासा प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले गर्छ । 

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा चालु खर्चका निम्ति  ७१ करोड ३१ लाख निकासा भएकोमा १७ दशमलव ७२ प्रतिशत अर्थात्  १२ करोड ६३ लाख खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नन्दप्रसाद पाण्डेले जानकारी दिए र  
रासस 

प्रतिक्रिया