सिरियाका विद्रोही द्वारा देशको दोस्रो ठूलो शहर अलेप्पो कब्जा

एजेन्सी । सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लडाकुले कब्जामा लिएका छन् । बेलायतमा आधारित निगरानी समूह सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स (एस.ओ.एच.आर.) का अनुसार शुक्रबार बेलुका सम्म विद्रोहीहरूले शहरको आधा भन्दा धेरै क्षेत्र नियन्त्रणमा लिएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सिरियाली सरकार विरुद्ध वर्षौं देखि भइरहेको आक्रमण मध्ये शुक्रबार भएको आक्रमण सबैभन्दा ठूलो हो । सन् २०१६ मा सरकारी सेनाले जबरजस्ती हटाए पछि विद्रोहीहरू पहिलो पटक अलेप्पो पुगेका छन् । 

इस्लामिक लडाकु समूह हयात तहरीर अल–शाम (एचटीएस) सँग सम्बद्ध एक च्यानलमा पोस्ट भएको भिडियोमा विद्रोही लडाकुहरू शहर भित्र गाडीमा घुमिरहेको देखिएको छ । सयौँ मानिसहरु शहर छाडेर भागेका छन् । सरकारले भने अलेप्पोलाई पुन नियन्त्रणमा लिन कारबाही शुरू भइसकेको जनाएको छ । 

सिरियामा राष्ट्रपति बसर अल अशद विरुद्ध सन् २०११ मा शुरू भएको आन्दोलन अहिले विभिन्न समूहको सशस्त्र विद्रोह सम्म पुगेको छ । गृहयुद्धमा ५० हजार जना भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । सिरियाको सरकारी सेनालाई रुसको साथ छ । 

फ्रि सिरियन आर्मी नामक अर्को विद्रोहीलाई अमेरिका र बेलायत लगायतको साथ रहेको छ । आईएसका लडाकु बाट खतरा रहेको भन्दै इजरायलले पनि सिरियामा आक्रमण गर्दै आएको छ । टर्कीमा आन्तरिक युद्ध मात्रै नभइ विभिन्न देशहरुको समेत प्रवेश भएकाले युद्ध रोकिने कुनै सम्भावना नदेखिएको समाचारमा उल्लेख छ । 
 

प्रतिक्रिया