पत्रकार रायमाझी ‘लिभिङ फर अदर’ अवार्डबाट सम्मानित हुँदै

काठमाडौं । अष्ट्रेलियामा बसेर पत्रकारिता गर्दै आएका पत्रकार केदार रायमाझी ‘लिभिङ फर अदर’ अवार्डबाट सम्मानित हुने भएका छन् । समाजमा सकरात्मक प्रभाव पारेको र संस्कृतिलाई नयाँ उचाइँमा पुर्‍याएको भन्दै ‘युनिभर्सल पिस फेडेरेसन’ले रायमाझीलाई शनिबार सम्मान गर्ने भएको हो ।

ग्लोबल गस्पेल मिनिस्ट्रीद्वारा परामर्श, राहत, र विभिन्न सामाजिक सेवाहरू संचालन गर्दै समाजमा प्रेरणादायी प्रभाव पुर्‍याउँदै आएका रायमाझीको नेपालदेखि अष्ट्रेलियासम्मको यात्रा निस्वार्थ सेवाको उदाहरण बनेको छ । २०१८ मा अष्ट्रेलिया गएपछि उनी नेपाली समुदाय र अन्य समुदायहरूबीच समानुभूतिको पुल निर्माण गर्न सफल भए ।

लामो समय नेपाली पत्रकारितामा समेत योगदान दिँदै आएका उनले सिड्नीको गस्पेल नेपाली चर्चका प्रमुख पाष्टरका रूपमा समेत धार्मिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

आयोजक संस्थाका एक प्रतिनिधि भन्छन, ‘पत्रकार रायमाझीको योगदानले समाजमा सकारात्मक प्रभाव परेको र उनीजस्ता समर्पित व्यक्तिलाई सम्मान गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो ।’

रायमाझीलाई प्रदान गरिने यस सम्मानले नेपाली समुदायभित्र समाजसेवाको महत्व र त्यसप्रतिको प्रतिबद्धतालाई थप उर्जा दिने विश्वास गरिएको छ ।

प्रतिक्रिया