सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ, क्रिकेट खेल्न भोली पाकिस्तान जाने
क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि भोली पाकिस्तान जाने भएका छन । बलात्कार सम्बन्धी मुद्दा आजका लागि तोकिएको पेसी पनि हेर्न नभ्याइनेमा परेपछि उनी भोली पाकिस्तान प्रस्थान गर्ने उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिएका हुन । लामिछाने बुधबारदेखि हुने एसिया कप क्रिकेटका लागि नेपाली टिममा छन । अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा तोकिएको पेसी पाँच औं नम्बर परेपनि सुनुवाइ नभएको हो । सन्दीपका कानुन व्यवसायीले यसअघि नै सन्दीपलाई पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ क्यानलाई गराएको थियो ।
अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई खेलमा सहभागिता जनाउन पाउनेछन । सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन् । प्रहरीले सन्दीपलाई पक्राउ गरेर अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालयले २०७९ कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि जिल्ला अदलातले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिए । उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्ने आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो । तर सर्वोच्च अदालतले उच्चको अरु आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध हटाएको थियो । सर्वोच्चले मुद्दाको किनारा चाँडो लगाउन आदेश गरेको भए पनि काठमाडौँ जिल्ला अदालतले मुद्दाको अन्तिम सुनुवाइ गर्न नसक्दा धकेलिइरहेको छ ।।
प्रतिक्रिया