रूसी रक्षामन्त्री उत्तर कोरिया भ्रमणमा

एजेन्सी । रूसी रक्षा मन्त्री आन्द्रेई बेलोसोभ उत्तर कोरियाको भ्रमणका क्रममा शुक्रबार प्योङयाङ पुगेको रूसी समाचार निकायहरूले जनाएका छन् । 

प्योङयाङको भ्रमणका क्रममा बेलोसोभले उत्तर कोरियाका धेरै ‘सैन्य तथा राजनीतिक नेता’ सँग वार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।  

उनलाई प्योङयाङमा उत्तर कोरियाली समकक्षी नो क्वाङ चोलले स्वागत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । युक्रेनमा युद्ध शुरु भए देखि नै रुस र उत्तर कोरियाले आफ्नो सैन्य सम्बन्ध बलियो बनाएका छन् ।

उनीहरूले जूनमा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए । सन्धिले आक्रमणको अवस्थामा एक अर्कालाई सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न सहयोग गर्न बाध्य पार्छ ।

अमेरिका र दक्षिण कोरियाले पनि आणविक हतियार द्वारा सुसज्जित उत्तर कोरियाले रूसलाई युक्रेन सँग लड्न मद्दत गर्न दश हजार भन्दा बढी सैनिकहरू पठाएको आरोप लगाएको छ । विज्ञहरूले नेता किम जोङ उन उन्नत प्रविधि र आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक भएको जनाएका छन् ।  

आणविक हतियार कार्यक्रम र युक्रेन युद्धका लागि उत्तर कोरिया र रूस दुवै संयुक्त राष्ट्रसङ्घ द्वारा लगाएकोे प्रतिबन्धको सामना गरिरहेका छन् । 
रासस 

प्रतिक्रिया