संसदीय समितिको ९ विषयगत समिति सभापति निर्विरोध चयन हुने निश्चित
प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ । आइतबार १० वटा संसदीय समितिको सभापतिका लागि ११ जना सांसदले उम्मेदवारी दर्ता गरेका हुन् । संसदको सबैभन्दा ठूलो दल कांग्रेसले तीन वटा समितिको सभापतिका लागि उम्मेदवारी दिएको छ । कांग्रेसका रामहरि खतिवडाले राज्य व्यवस्था समिति, डा. आरजु राणा देउवाले कृषि सहकारी तथा वातावरण समिति र सन्तोष चालिसेले अर्थ समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, एमालेका किरण साहले महिला समिति र ऋषिकेश पोखरेलले लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दिपक बहादुर सिंह, स्वास्थ तथा शिक्षा समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपा नेपालका राजकिशोर यादवको उम्मेदवारी परेको छ । उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा सत्तारुढ दल जनमत पार्टीका अब्दुल खान र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेको छ । उद्योग समितिबाहेक अन्य ९ वटा समितिका सभापति भने निर्विरोध चयन हुने भएका छन् । निर्विरोध भएका सभापतिहरूको घोषणा भोली सबन्धित समितिमा हुनेछ । उद्योग समितिको सभापतिका लागि भने चुनाव हुने भएको छ । चुनाव सोमबार नै हुनेछ । संसदीय सुनुवाइ विशेष समिति कांग्रेस र राज्यका निर्देशक सिद्धान्त समितिको सभापतिको एमालेको भागमा परेको छ । संयुक्त समिति भएकाले यी दुई समितिको निर्वाचन प्रक्रिया अघि बढेको छैन । कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा जीवन परियारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले राज्यका निर्देशक सिद्धान्त समितिको सभापतिको उम्मेदवार भने टुंगो लगाएको छैन ।
प्रतिक्रिया