परराष्ट्र मन्त्री डा. राणा छन्दु स्थित महावाणिज्य दूतावासमा

काठमाडौं  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज (शुक्रबार) चीनको सिचुवान प्रान्त स्थित छन्दुमा रहेको नेपाली महावाणिज्य दूतावासको निरीक्षण गरेकी छन् ।    

त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउत सहितका कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्री राणालाई महावाणिज्यदूत राउतले महावाणिज्य दूतावासका कामकारबाहीका बारेमा जानकारी गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री राणाले आगामी वर्ष नेपाल र चीन बीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकार द्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रर्वद्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् । 
    
यस कार्यक्रम बाट दुवै देशको पर्यटन प्रर्वद्धन हुनुका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास उनले व्यक्त गरिन् । मन्त्री राणाले नेपाली चिया, कफी, औषधिजन्य तथा सुगन्धित जडीबुटी जस्ता नेपालका विशिष्ट उत्पादनहरूलाई चिनियाँ बजारमा प्रर्वद्धन गर्ने कार्यमा लाग्न निर्देशन दिइन् । 

त्यस अवसरमा मन्त्री राणाले नेपाल चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिएकी थिइन् । महावाणिज्य दूतावासमा आयोजित अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली लगायत पनि सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रासस 

प्रतिक्रिया