काठमाडौंमा रवि लामिछानेको वयान शुरु
काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति रवि लामिछानेको वयान लिन शुरु गरिएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई काठमाडौंको सरकारी वकिलको कार्यालयमा वयानका लागि आज (शुक्रबार) बिहान उपस्थित गराइएको हो ।
कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बिहीबार साँझ काठमाडौं ल्याइएको हो । काठमाडौंको कालीमाटी स्थित स्वर्णलक्ष्मी बचत सहकारीको रकम अपचलनका विषयमा उनको बयान लिन लागिएको हो । स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा लगेर अपचलन गरेको सम्बन्धमा जाहेरी परेपछि काठमाडौं प्रहरी परिसरले लामिछाने विरुद्ध मंसिर २ मा पक्राउ पुर्जी जारी गरेको थियो ।
कास्कीमा जस्तै काठमाडौंमा पनि लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई कास्की नै फिर्ता लगिने छ । गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा गत कात्तिक २ मा पक्राउ परेका हुन् ।
कास्की जिल्ला अदालतले आइतबार पाँचौ पल्ट म्याद थप्दै १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याएर बयान लिइएको थियो ।
साहारा चितवन सहकारीको रकम ठगीको अनुसन्धानमा लामिछाने लगायत विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछानेलाई चितवन लैजाने वा नलैजाने बारे निर्णय भइसकेको छैन ।
प्रतिक्रिया