मौसममा सुधार: कतैकतै हल्का देखि मध्यम वर्षाको सम्भावना

पछिल्लो एक हप्तादेखि  देशभर वर्षा भइरहेकोमा आजदेखि मौसममा सुधार आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो  देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ । यसैविच मध्य र पूर्वी नेपालमा रातभर मुसलधारे वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा राती मुसलधारे पानी परेको हो । मुसलधारे वर्षासँगै विभिन्न खोला नदीले सतर्कता तह पार गरेका छन् । बाराको  निजगढ, कोभि, अम्लेखगञ्ज, सर्लाइको कर्मैया, र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । बकैया नदी र सो क्षेत्र भइ बहने नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा सतकर्ता अपनाउन आग्रह गरिएको छ । यस्तै,  सङ्खुवासभाको खादबारी, तुम्लिङ्टार, सप्तकोशी चतरा, लेवाघाट धनकुटा, खोटाङ्ग बजार क्षेत्र भएर बहने खोलाहरुमा आकस्मिक जलसतह बढ्ने चेतावनी दिईएको छ । मकवानपुरको मकवानपुरगढी, कास्कीको लुम्ले र जुम्लेटी, पर्साको ठोरी, बाराको कलैया र परवानीपुरका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम औल्याइएको छ । 

प्रतिक्रिया