गौर हत्याकाण्ड प्रकरणमा सहमति अनुसार नै छानबीन हुन्छ: गृहमन्त्री श्रेष्ठ

दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौर हत्याकाण्ड प्रकरणमा पीडितसंग सरकारले गरेको सहमति अनुसार नै छानविन र कारबाही हुने बताएका छन । आज वीरगन्जमा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले पाँच बँुदे सहमतिमा उल्लेख भए अनुसार नै घटनाको छानविन हुने बताएका हुन । उनले घटनाको जाहेरी समेतलाई आधार बनाएर समग्र अनुसन्धान गरी दोषी देखिएकालाई सम्बन्धित निकायले कारबाहीको दायरामा ल्याएर छानविनलाई निष्कर्षमा पु¥याउने उल्लेख गरे ।  
गृहमन्त्री श्रेष्ठले गौर हत्याकाण्ड प्रकरणमा पीडित पक्षसंग गृह मन्त्रालयले गरेको पाँच बुँदे सहमतिबाट सरकार पछाडि नहटेको पनि दाबी गरे । गिरीबन्धु चिया बगान प्रकरणबारे पनि अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनको भनाइ छ । धरान घटनालाई लिएर गृहमन्त्री श्रेष्ठले मुलुकमा धार्मिक सहिष्णुता बिथोल्ने छुट कसैलाई पनि नभएको उल्लेख गरे । घटनामा संलग्नहरुलाई संविधान र कानुन अनुसार कारबाही हुने उनको भनाइ छ । गृहमन्त्री श्रेष्ठले आजै जिल्ला प्रशासन कार्यालय पर्साको प्रशासनिक नया भवनको उदघाटन गरे । सो क्रममा मन्त्री श्रेष्ठले जनताप्रति उतरदायी भई काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भष्टाचार, सार्वजनिक सम्पतिको कव्जा बिरुद्ध अघि बढेपछि केही तत्वले सरकारलाई बदनाम गर्न खोजेको गुनासो गरे । सो क्रममा स्थानीयले गृहमन्त्री समक्ष पोखरियामा थप सेवा केन्द्र बिस्तार गर्न माग गरेका थिए ।

प्रतिक्रिया