बिहिबार बिहानैदेखि युक्रेनमा रुसको आक्रमण

एजेन्सी ।रुसले बिहिबार बिहानै युक्रेनका बिभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ । 

रुसले बिभिन्न स्थानमा आक्रमण गर्नसक्ने भन्दै  युक्रेनमा देशव्यापी सतर्कता अपनाइएको थियो । 
खार्किभका मेयर इगोर तेरेखोभले सहरको एक नागरिक क्षेत्रमा गोलाबारी भएको बताएका छन् भने लुत्स्कका मेयर इहोर पोलिचुकले धेरै विस्फोटको आवाज सुनिएको बताएका छन्।

हालैका दिनहरूमा रुसले युक्रेनमा करिब १,५०० हवाई आक्रमण गरेको  छ ।  युक्रेनी अधिकारीहरूका अनुसार देशको आधा भागमा रुसले प्रहार गरिसकेको छ । 

युक्रेनको वायुसेनाले रिभ्ने, भिन्नित्सिया, क्रोपिभनित्स्की, बाल्टा र माइकोलाइभ सहित देशका धेरै क्षेत्रहरूमा रकेटहरू आक्रमण हुने  चेतावनी जारी गरेको छ । 

स्थानीय संचार माध्यमहरुका अनुसार  प्रमुख बन्दरगाह शहर ओडेसामा विस्फोटको आवाज सुनिएको छ । क्षेत्रीय गभर्नर ओलेग किपरले बासिन्दाहरूलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरेका जनाइएको छ । 

देशका उर्जा मन्त्री हर्मन हलुस्चेन्कोले फेसबुकमा एक पोस्टमा भनेका छन्, “शत्रुको ठूलो हमलाले फेरि ऊर्जा पूर्वाधारलाई लक्षित गरेको छ“। रुसले सन् २०२२ फेब्रुअरी महिनामा एक्कासी युक्रेनमाथि आक्रमण गरेको थियो । त्यस यता दुबै देशबीच निरन्तर युद्ध जारी छ । युक्रेन भन्दा कैयौं शक्तिशाली मानिएको रुस युक्रेनसँग झण्डै ३ वर्ष अघिदेखि भिडिरहेको छ ।  
 

प्रतिक्रिया