ट्रम्प र उनको मन्त्रीमण्डल सदस्यलाई बम आक्रमणको धम्की
एजेन्सी । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रीमण्डलका धेरै सदस्य र उनको ह्वाइट हाउस सदस्यमा छनोट भएकाहरुलाई बम आक्रमणको धम्की आउन थालेको छ ।
ट्रम्पले छनोट गरेका आवास, कृषि र श्रम विभागको नेतृत्व र संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूतको लागि भएको छनोट विरुद्ध धम्कीहरू आइरहेका बताइएको छ । यसअघि चुनावी अभियानका क्रममा दुई वटा हत्या प्रयास बाट बच्न सफल ट्रम्पले त्यतिबेला धम्कीपूर्ण टेलिफोनको सामना गर्नुपरेको थिएन । तर अहिले यस्ता फोनले सताइरहेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति जो बाइडेनलाई धम्कीको बारेमा जानकारी गराएको ह्वाइट हाउसले जनाएको छ । सम्बन्धित सबैलाई सुरक्षाको प्रत्याभूति दिलाउन चुस्त प्रहरी सुरक्षाको व्यवस्था गरेकाले नआत्तिन ह्वाइट हाउसले आग्रह गरेको छ ।
धम्की बारे आफूलाई जानकारी भएको भन्दै अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफ.बी.आई.ले धेरै भ्रामक हल्ला पनि फैलिरहेकोले सचेत हुन आवश्यक रहेको बताएको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेकोले सुरक्षा र अनुसन्धानलाई प्रभावित बनाउने खालका झुट्टा विवरण सहितको टेलिफोन आइरहेको एफ.बी.आई.को भनाइ छ ।
प्रतिक्रिया