विषयगत समितिको नेतृत्व चयनका लागि निर्वाचत तालिका सार्वजनिक
भदौ १० गते उम्मेदवारी दर्ता, ११ गते मतदान
प्रतिनिधि सभाले औपचारिक कार्यभार सम्हालेको करिब आठ महिनापछि विषयगत समितिको नेतृत्व चयन प्रक्रिया अघि बढाइएको छ । संसद सचिवालयले आगामी भदौं ११ गते दिउँसो ३ बजे समिति सभापति निर्वाचन गर्ने गरि निर्वाचन तालिका आज सार्वजनिक गरेको छ । राजनीतिक समझदारीपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सभापति चयनको मिति तोकेका थिए । त्यही आधारमा आज निर्वाचन तालिका सार्वजनिक गरेका हुन् । तालिका अनुसार १० गते विहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारले उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने र ११ गते मतदानको प्रक्रिया हुने उल्लेख छ ।संसद नियमावलीको नियम १७६ अनुसार कम्तीमा ४८ घण्टाअघि सभाका सचिवले कार्यतालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोही आधारमा आज कार्यतालिका सार्वजनिक भएको हो ।समितिमा एक मात्र मनोनयन परेमा सभापति निर्विरोध चयन हुने छ। मत बराबर भएको अवस्थामा बाहेक समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्यलाई मताधिकारको व्यवस्था हुने छैन।प्रमुख दलहरूबिच संसद्का दुई संयुक्त र १० विषयगत समितिमा सभापतिको भागबन्डा मिलिसकेको छ। संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गर्ने छन्। सुनुवाइ समितिको कांग्रेस र राज्यका निर्देशक सिद्धान्तको एमालेले नेतृत्व गर्ने राजनीतिक सहमति बनेको छ। यस्तै १० विषयगतमध्ये सार्वजनिक लेखा र थप एक समिति एमालेले पाउने छ। महिला तथा सामाजिक समिति एमालेले पाउने सहमति यसअघि भएको थियो। बाँकी आठ विषयगतमध्ये सत्तारूढ दलहरूले नेतृत्व गर्ने छन्। कांग्रेसले संयुक्तसहित चार, माओवादी केन्द्रले दुई, जनता समाजवादी पार्टीले एक, नेकपा एकीकृत समाजवादीले एक र जनमत पार्टीले एक समितिको नेतृत्व पाउने समझदारी सत्तारूढ दलभित्र बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सभापतिमा दाबी गरे पनि नेतृत्व पाउने निश्चित छैन ।
प्रतिक्रिया