कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याएका छन् ।
नेपाली कांग्रेसकातर्फबाट स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँ महानगरपालिका–१६ का उम्मेदवारसँगको छलफलका लागि नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्रको एकतालाई बलियो बनाएर जनतामाझ जानुपर्ने बताएका हुन् ।
प्रवक्ता डा महतले पार्टीकोतर्फबाट उम्मेदवारी दिनुभएका देवेन्द्र पाठकलाई भारी मतकासाथ विजयी गराउन सम्पूर्ण पार्टीपङ्क्ति सक्रिय भएर लाग्नुपर्ने खाँचो औँल्याए । “निर्वाचन आचारसंहिताको पालना गर्दै सम्पूर्ण रूपमा सक्रिय भएर कांग्रेसको उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु”, उनले भने ।
डा महतले पार्टीलाई एकताबद्ध गर्दै सङ्गठनलाई चुस्तदुरूस्त बनाएर लैजान सकेमा आगामी २०८४ को निर्वाचनमा पार्टीले बहुमत हासिल गर्ने दाबी गरे ।
उनले भने, “सम्पूर्ण शक्ति पार्टीको उम्मेदवारप्रति होमिन जरूरी छ । त्यसो भयो भने आउने ८४ को निर्वाचनमा पनि पार्टीले एक्लै ठूलो पार्टीमात्रै हैन बहुमतको पार्टी पनि बन्न सक्छ । तर, त्यसका लागि हामीले सशक्त रूपमा एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ । जनताबीच जाँदा मतदातामा पुग्दा सकारात्मक ऊर्जा पैदा हुनुपर्छ ।”
प्रतिक्रिया