अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित

अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी ‘जीईएफ’ को उपाध्यक्षमा चुनिएका छन । क्यानडामा भएको ‘जीईएफ’ को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट महत उपाध्यक्षमा निर्वाचित भएका हुन । बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्यान्ड्सको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । यसअगाडि मन्त्री डा. महतले विश्व वातावरण कोषको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए । साथै उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी मानिसका लागि पानीको  स्रोत रहेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएका छन । यसैगरी नेपालले जैविक विविधताको संरक्षणमा ईमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरुको संरक्षण गरेको र सोको नतिजा स्वरुप बाघ तथा गैडाको संख्यामा उल्लेख्य रूपमा बृद्धि भएको बताए । नेपाल विश्वको १० औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिवृष्टि सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको जानकारी पनि अर्थमन्त्री महतले विश्व समुदायलाई गराएका छन् । 
 

प्रतिक्रिया