सर्वाेच्चद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । 

प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यसको सुनुवाइ गर्दै सर्वाेच्चले थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वाेच्चका न्यायाधीशद्वय  शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चको यो आदेशपछि प्रसाईं थुनामै रहने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओली विरुद्ध मिथ्या र गलत सामग्री सहित  दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंसिर ४ गते  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले  भक्तपुर निवासबाट पक्राउ गरेको थियो ।

त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौंले प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो । प्रसाईंले  प्रधानमन्त्री ओलीको कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा  २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भन्दै सामाजिक संजाल मार्फत सार्वजनिक गरेका थिए । प्रसाईंले सार्वजनिक गरेको सो समाचार झुठो र भ्रामक भएको बताइएको छ ।
 

प्रतिक्रिया