इजरायल र हिजबुल्लाहबीचको युद्ध विरामपछि मानिसहरु घर फर्किदै,कैयनका घर भने भग्नावशेष मात्रै

एजेन्सी । इजरायल र हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौता लागू भएपछि लेवनान र इजरायलका मानिसहरु आ–आफ्नो घर फर्किन थालेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले घोषणा गरेको यो युद्ध बिरामको सम्झौता बुधबारदेखि लागू भएको हो ।
तर इजरायली सेनाले केही क्षेत्रमा रहेका आफ्ना नागरिकलाई फिर्ता गर्न हरियो सङ्केत दिएको छैन ।दक्षिणी लेबनान जाने राजमार्गमा उत्साह देखिएको छ ।

लेबनान र इजरायलको सिमानामा पर्ने दक्षिणी लेबनानका अधिकांश शहर र गाउँहरू छन्, जहाँबाट इजरायल र हिजबुल्लाहबीच लडाइँ शुरु भएपछि  ठूलो संख्यामा मानिसहरू बसाइँ सरेका थिए । अर्कोतर्फ उत्तरी इजरायलको सिमानामा रहेको यहुदी बस्ती महिनौंदेखि रित्तो छ र केही मानिस यो सम्झौताबाट रुष्ट छन् ।

यद्यपि दुवै पक्ष विस्थापित नागरिकलाई घर फर्काउन एक कदम अघि बढेका छन् ।हिजबुल्लाहले यसलाई आफ्नो जीतको रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ, तर विपक्षीहरूले यसको कमजोर स्थितिको फाइदा उठाउने प्रयास गर्नेछन्। घर फर्केका केही मानिसहरूले घरहरू युद्धका कारण भग्नावशेषमा परिणत भएको भेट्टाएका छन् । तथापि, घर फकिएको आनन्द धेरै मानिसमा देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो ।

त्यसयता हमास र इजरायलबीचको युद्ध अहिलेसम्म चलेको हो । हमासलाई लेवनानमा रहेको अर्को मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको थियो । हिजबुल्लाह निकै शक्तिशाली संगठन मानिन्छ ।  हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको छ ।

त्यसकारण इजरायलले हमास र हिजबुल्लाहलाई लक्षित गरेर गाजा र लेवनानमा आक्रमण जारी राखेको थियो। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४० हजार प्यालेष्टिनी नागरिकको मृत्यु भइसकेको छ । त्यस्तै लेवनानमा पनि धेरै मानिसको मृत्यु भएको छ । 
 

प्रतिक्रिया