मनसुन सक्रिय हुँदा अधिकांश ठाउँमा मुसलधारे वर्षा, सतर्कता अपनाउन आग्रह

गएराति देशका धेरै ठाउँमा मुसलधारे वर्षा भैरहेको छ । आइतबारदेखि नै मनसुन सक्रिय भएर पानी परिरहेकोमा गएराति धेरै ठाउँमा मुसलधारे पानी परिरहेको हो । पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्मै ठाउँ ठाउँमा ठूलो पानी पर्दा बाढीको चेतावनी जारी गरिएको छ । आज कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको छ । दार्चुला, म्याग्दी, कास्की, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, खोटाङ, उदयपुर, धनुषा र ईलाम लगायतका जिल्लामा ठूलो पानी परेको मौसम विभागले जनाएको छ ।सप्तकोसी नदीमा पनि ठूलो बाढी आएको छ । बाढीपछि सुनसरीको चतरामा जलसतह बढ्दो रहेकाले कटान र डुबान हुने क्षेत्रका बासिन्दालाई उच्च सकर्तकता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गरी उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुनसक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूलाई आज साँझसम्मै उच्च सतर्कता अपनाउन भनेको हो । कैलालीको चिसापानी र कैलाली लगायत आसपासका खोला र नदीमा बाढीको चेतावनी जारी भएको छ । नेपाल बाढी सूचना केन्द्रले लमजुङको खुदीबजार आसपासका सबै खोला नदी किनारमा नजान र चामे बेसिसहर सडकमा पहिरोको चेतावनी दिएको छ । ओखलढुंगाको रबुवाबजारमा दुधकोशी नदीले सतर्कता तह नाघेको छ । नागरिकलाई उच्च सतर्कता अपनाउन भनिएको छ । रानीबास सिन्धुलीमा कमला नदीले खतराको तह नाघेको छ । सिन्धुली, उदयपुर, धनुषा र सिराहा लगायत तटीय क्षेत्रमा चेतावनी जारी भएको छ । उता महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको छ । आज बिहान नदीको डडेलधुरास्थित पारिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह  पार गरेको हो । बाढी पूवार्नुमान शाखाले कञ्चनपुरको नदीतटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यसैविच अविरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति पु¥याएको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।  निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयका कक्षाकोठा उच्च जोखिममा परेका छन । 
 

प्रतिक्रिया