विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
मोरङ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण कार्यक्रममा उनले विपद् नियन्त्रण गर्न नसके पनि क्षति र जोखिम कम गर्न प्रभावकारी रूपमा पूर्व तयारी गर्नुपर्ने बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरी बल बराह बाहिनी पकली सुनसरीका प्रमुख शुम्भ सुवेदीलाई अग्नि नियन्त्रणका लागि १७ लाख १७ हजार आठ सय २० मूल्य बराबरको सात किसिमका सामग्री हस्तान्तरण गरेका हुन् ।
उनले पूर्व तयारीबाट दुर्गम स्थानमा विपद्बाट हुने घटना नियन्त्रण गर्न सहयोग पुग्नुका साथै जनधनको क्षति रोक्न सकिने धारणा राखे ।
मुख्यमन्त्री कार्की विपद् नियन्त्रणमा जनताको सक्रिय सहभागिता गराउन सरकार क्रियाशील रहेको बताए । उनले बाढीपहिरो आउने स्थानमा स्थानीय पालिकासँगको सहकार्य र सहयोगमा आगामी जेठ अगाडि बस्ती सार्ने योजना बनाइएको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले जाडोयाममा तराईमा शीतलहर आउनेसक्ने भन्दै शीतलहरबाट आमनागरिकलाई बचाउन आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशन दिए । उनले सडक दुर्घटनाबाट ठूलो मानवीय एवं भौतिक क्षति भइरहेकाले यसलाई नियन्त्रण गर्न तीन तहका सरकारको समन्वय हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया